Skip

Hamro Sanchar

गणेश, भैरव र भिमशेन जात्राको अन्तिम दिन : मेयर कार्की र उपमेयर थापाद्वारा पुजा आराधना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २९ गते


काठमाडौँ, बैशाख २९- कागेश्वरी मनोहरा नगरपालिकाको ऐतिहासिक श्री गणेश, भैरव, भीमसेन र चम्पक विनायक जात्राको अन्तिम दिन मेयर उपेन्द्र कार्की र उपमेयर शान्ता थापाले पुजा तथा आराधना गरेका छन् ।

आलापोटमा आयोजित विशेष कार्यक्रममा मेयर र उपमेयरसहितले पुजा तथा आराधना गरेका हुन् ।

नगरपालिकामा बैशाख कृष्ण चतुर्दशीको दिनदेखि बैशाख शुक्ल तृतीयाको दिनसम्म श्री गणेश, श्री भैरव, श्री भीमसेन, श्री चम्पक विनायक जात्रा मनाउने गरिन्छ । असअनुसार बैशाख २५ गतेदेखि संचालन भएको ऐतिहासिक जात्रा २९ गते अर्थात् आज राती सम्पन्न हुनेछ ।

नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ सम्म विभिन्न समुदायमा बसोबास गर्ने साथै विशेषगरी नेवारी समुदायका स्थानीय बासिन्दाहरुले भव्यताका साथ मनाउने गर्दछन् ।

बैशाख कृष्ण चतुर्दशीको दिनदेखि बैशाख शुक्ल तृतीयाको दिनसम्म मनाइने जात्रा २७ गते बिहान ४ बजे रथारोहण र त्यसपछि आलापोट, भाद्र्बास परिक्रमा गर्दै त्यसपछि दिनभरी रथ जात्रा हुन्छ । गणेश र भैरव गरेर जम्मा १८ स्थानमा रथ बिसाउने कार्यक्रम हुनेछ । बेलुका आलापोटको कृष्णचौरमा गणेश, भैरव र भीमसेनको रथसहित भब्य जात्रा हुन्छ । बेलुका ८ देखि ९ बजेसम्म रथ बिसाइन्छ । र २८ गते दिनभरी गणेश, भैरव र भीमसेनको रथ बिसाउने कार्य हुन्छ । त्यो भनेको गुफा राख्ने कार्य जस्तै हो । उक्त दिन भब्य बाजागाजासहित सिन्दुर जात्रासहित बत्ति लिन जाने चलन छ । गणेश र भीमसेनबाट भैरवको मन्दिरमा र भैरवकोबाट गणेश र भीमसेनको रथमा बत्ति दिन आउने चलन छ ।

यो जात्रा भद्रबास, आलापोट, डाँछी, नयाँ गाउँ, थली, ब्रमखेललगायतका स्थानमा भब्य रुपमा मनाइन्छ ।

यस जात्रालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । पहिले आ-आफ्नो ठाउँबाट आफ्नै तरिकाले मनाउदै आइरहेको जात्रालाई गत बर्षदेखि नगरपालिकाले बिशेष प्राथमिकतामा राखेर अपनत्व लिएको छ । नगरपालिकाले जात्राको अवसरमा शुक्रबार (हिजो) सार्वजनिक  बिदासमेत दिएको थियो ।

जात्राको अवसरमा हाम्रोसंचारसँग कुरा गर्दै मेयर कार्कीले स्थानीयहरूको उत्साहजनक ढंगले उपस्थिति भएकोमा खुसी व्यक्त गरे । उनले जात्रालाई सिंगो नगरपालिकाको जात्राको रुपमा अगाडी बढाएको जानकारी दिए । ‘सबै स्थानीयहरूको उत्साहजनक ढंगले उपस्थिति भएको छ । नगरपालिकाले यसको ब्यबस्थापनको जिम्मेवारी लिएर थप रौनक बनाउन र उल्लेख्य सहभागिताको लागि अक्षय तृतीयको दिन सार्वजनिक बिदा दिएका छौ । नगरपालिकाले धर्म, संस्कार र संस्कृतिको लागि स्थानीयहरु सँग मिलेर काम गर्न पाउँदा खुसी छौं ।’ उनले भने ।

यो ऐतिहासिक जात्राले कागेश्वरी मनोहरा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सघाउ पुग्ने मेयर कार्कीले विश्वास व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्