Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज मातातीर्थ औँसी, छोराछोरीले आमाको मुख हेर्ने दिन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २६ गते


Advertisement

काठमाडौं, वैशाख २६- वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ।

दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।

छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगाफाटोलगायत उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने परम्परा छ। आमा नभएकाले भने तर्पण वा श्राद्ध गरेर उनको सम्झना गर्छन्।

अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ। ‘कुपुत्रो जायते क्वचदपि कुमाता नभवति’ अर्थात् सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् भन्ने मान्यता छ।

मनुस्मृतिमा ‘सहस्रं तु पितृन् माता गौरवेणाऽतिरिच्यते’ अर्थात् माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ।​ महाभारतको वन पर्वमा ‘पृथ्वीभन्दा पनि ठूलो चीज के हो’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले जवाफ दिएका छन्, ‘संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।’

बुधबार ९ घडी २१ पला अर्थात् बिहान ९ बजेर ६ मिनेटसम्म मात्र औँसी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ।


प्रतिकृया दिनुहोस्