
गुल्मी, बैशाख २५- गुल्मी जिल्ला अदालतको भवनभित्रै श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् । सोमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन् ।
उनीहरु सम्बन्ध विच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आएका थिए । न्यायाधीशले आज आदेश वा फैसला गर्ने कार्यपालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।
कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ भने दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले जानकारी दिए ।
हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेँसीकी मनसुवाबीच छ वर्ष पहिले विवाह भएको थियो ।
श्रीमान्-श्रीमतीबिच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन् । उनीहरूको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो ।














