
काठमाडौँ, बैशाख १४- काठमाडौँ-३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक रुपमा दोलखाको पर्यटकीय तथा धार्मिक स्थल सैलुङ भ्रमणमा गएका छन् ।
दोलखाली समाजसेवी शोभित उप्रेतीको पहलमा शुक्रबार काठमाडौँ वडा नम्बर ३१ का ६० जना ज्येष्ठ नागरिक सैलुङतर्फ लागेका हुन् । त्यहाँ उनीहरूले विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने उप्रेतीले जानकारी दिए ।
६० जनाको टोली शनिबार साँझ काठमाडौँ फर्कने बताइएको छ ।
पछिल्लो समय सैलुङ देशकै आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्दै आएको छ । प्राकृतिक सुन्दरता, भौतिक पूर्वाधारको विकास, स्थानीय कला संस्कृति, रहनसहन, कला परम्परा र त्यस क्षेत्रका बासिन्दाको सक्रियताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भइरहेको छ ।
यसरी भ्रमण गर्नेमा वर्तमान तथा पूर्व प्रशासक, व्यवसायी, साहित्यकार, कलाकार, पत्रकार, राजनीतिकर्मी एवम् समाजसेवी रहेका छन् ।













