Hamro Sanchar

कागेश्वरी मनोहराका पशुहरुलाई खोरेतविरुद्धको खोप लगाउन सुरु

प्रदिप नेपाली प्रकाशित : २०८० मंसिर, १४ गते


Advertisement

काठमाडौं, मङ्सिर १४- काठमाडौंको कागेश्वरी मनोहरामा नगरपालिकाका कृषक ब्यबसायीहरुले पालन गर्दै आएका गाइभैसी तथा भेडाबाख्राहरुलाई खोरेतविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

नगरपालिकाको पशु सेवा शाखा कार्यालयले सोमबारबाट गाइभैसी तथा भेडाबाख्राहरुलाई नि:शुल्क खोरेतविरुद्धको खोप लगाउन सुरु गरेको हो । शाखाले नगरपालिकाको वडा नम्बर ६ को सिर्जनाटोलस्थित कृष्णचन्द शाहको गाई फर्मबाट खोप लगाउन सुरु गरेको हो । सो दिन शाहले संचालन गरेको गाई फर्मका ६० वटा गाईबाच्छालाई खोरेतविरुद्धको खोप लगाइएको पशु सेवा शाखा कार्यालयका पशु सेवा प्राविधिक देव चन्द्र फुयालले हाम्रोसंचारलाई जानकारी दिए ।

आजसम्म वडाका ५८२ वटा गाइभैसी तथा भेडाबाख्राहरुलाई खोरेतविरुद्धको खोप लगाइएको छ । केहि छुटेकालाई लगाउने कार्य जारी रहेकोले केहि संख्या बढ्ने फुयालको भनाई छ ।

खोप कार्यक्रम सुरु गर्दा नगरपालिकाकी उपमेयर शान्ता थापा, वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयाल, वडासदस्यहरु, पशु प्राविधिकको टोलीसहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यस्तै पशु सेवा प्राविधिकको टोलीले आजबाट नगरपालिकाको वडा नम्बर १ मा खोप कार्यक्रम सुरु गरेको छ । टोलीले क्रमशः नगरपालिकाका अन्य वडामा लगाउने छ ।

खोप कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले खोप उपलब्ध गराएको छ भने नगरपालिकाले पारिश्रमिक र खाजा खर्च उपलब्ध गराएको छ ।

सन् २००२ मा गोन्गोलले गरिएको एक अध्ययनमा खोरेत रोगले नेपालमा बार्षिक ७ अर्व ७५ करोड ५० लाख बरावरको क्षति गराएको अवस्था छ । खोरेत रोगकै कारण पशुजन्य उत्पादनहरु विदेश निर्यात गर्नसमेत समस्या परिरहेको छ ।


प्रतिकृया दिनुहोस्