Hamro Sanchar

चिच्च्याएर बर माग्ने सत्यवती मेला ५ दिन चल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ५ गते


रुपन्देही, मंसिर ५- चिच्याएर बर माग्ने पाल्पाको सत्यवतीमा मेला ५ दिन लाग्ने भएको छ । मङ्सिर ७ गतेदेखि ११ गतेसम्म चिच्याएर बर माग्ने मेला हुने सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्याएर बर माग्ने मेला लाग्ने गर्दछ । यो वर्ष मेला पाँच दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए। परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गरेको उनले बताए ।

परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ ।

यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गरेको स्थानीय बासिन्दा एवं वडा अध्यक्ष तुलबहादुर आलेले जनाए । बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी, कुखुराका भाले, परेवा समेत बली चढाइन्छ ।

यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । सत्यवती ताल क्षेत्रको संरक्षण गर्दै बर माग्न आउने भक्तजनको सुविधाका लागि सडक मर्मतको काम भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यो वर्ष दुई लाखभन्दा बढी भक्तजन बर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा मेला व्यवस्थापन समितिले गरेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्