Hamro Sanchar

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले खाल्डोमा पारेर दुई गैँडा मारे

रासस प्रकाशित : २०८० मंसिर, १ गते


चितवन, मंसिर १- चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुईवटा गैँडा मारिएका छन् ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् ।

दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, ‘छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन।’

६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ ।

बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए ।

यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।


प्रतिकृया दिनुहोस्