Hamro Sanchar

नक्कली श्रम स्वीकृतीको कागजात बनाउने दुई जना सोल्टीमोडबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १६ गते


काठमाडौं, कात्तिक १६- नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडबाट दुई जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा बारपाक घर भई काठमाडौंको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र नागार्जुन रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल छन् । उनीहरूलाई सोल्टीमोडस्थित भाडामा लिएर वैदेशिक रोजगार सम्बन्धी काम गर्ने ट्राभल्सबाट मंगलबार पक्राउ गरेको हो ।

एसपी केसीका अनुसार गत आइतबार भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शंकास्पद कागजातहरूमाथि अनुसन्धान गर्न कार्यालयमा पठाएको थियो ।

कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृती नक्कली पाइएको थियो । उक्त नक्कली कागजात बनाएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई प्रहरी वृत्त कालीमाटीमा पठाएको छ ।


प्रतिकृया दिनुहोस्