
काठमाडौं, असोज १७- झाँक्री विद्याको बलमा जस्तो सुकै बिरामीको पनि उपचार गर्ने भन्दै प्रकाश भुजेलले संचालन गरेको पूजा तथा झारफुक पसल हटाउन कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले निर्देशन दिएका छन् ।
भुजेलले केहि समयदेखि नगरपालिकाको वडा नम्बर ५ मा पूजा तथा झारफुक पसल संचालन गरेका थिए ।
भुजेलले अवैधरुपमा पसल सञ्चालन गर्दै आएको र त्यसले आफूहरुलाई समस्या सिर्जना गरेको भन्दै स्थानीयले गुनासो गरेपछि नगरप्रमुख कार्कीले भुजेललाई मंगलबार छलफलका लागि बोलाएका थिए ।
नगरपालिका तथा वडालाई जानकारी नगराई भुजेलले पूजा तथा झारफुक सञ्चालन गरेको भन्दै जन गुनासोपछि नगरप्रमुख कार्कीले वडाध्यक्ष पाण्डे, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलालगायत सरोकारवालाहरुसँग नगरपालिकाको सभाहलमा छलफल गरेका हुन् । छलफलका क्रममा नगरप्रमुख कार्कीले व्यक्तिगत रुपमा भुजेल प्रति गुनासो नभएको तर सामाजिक गुनासो, प्राविधिक र वैधानिक पक्षलाई ध्यानमा राख्दै एक महिनाभित्र आफुलाई सहज हुने स्थानमा स्थानान्तरण गर्न भनेका थिए ।
उनले नगरपालिकाले तत्कालको पूजा तथा झारफुक पसल संचालन स्वीकृति दिन सक्ने अवस्था नरहेको भन्दै कागेश्वरी भन्दा अन्यत्र संचालन गर्न अनुरोध गरेका थिए ।
नगरप्रमुख कार्कीको निर्देशन पश्चात् भुजेल आफुले सञ्चालन गर्दै आएको पूजा तथा झारफुक गर्ने पसल हटाउन तयार भएका छन् । उनले आफ्नो कारण समाजलाई समस्या हुन नदिन आफू पसल हटाउन तयार भएको बताएका थिए ।
यसअघि उनले गोकर्णेश्वर नगरपालिकाको नारायणटारमा पूजा तथा झारफुक पसल संचालन गर्दै आएका थिए । उनलाई त्यहाँबाट पनि नगरपालिका र स्थानीय प्रशासनले हटाएको थियो ।



















