Hamro Sanchar

‘कागेश्वरी धाम’को उत्पत्तिसँग जोडिएको कागको कथा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ६ गते


काठमाडौं, असोज ६- कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन् । यस धाममा शिवलिंगसँगै कागको पूजा गरिन्छ । कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ । किंवदन्तीअनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे । त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे । तर, सधैं दूधको तर हराउँथ्यो ।

एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन् । त्यो कागलाई गोठालाले पच्छाएछन् । पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो । त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालियो ।

त्यस्तै, श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवी बोकेर हिँड्दा उनको मुटु यही ठाउँमा पतन भएको थियो । सतिदेवीको अंग पतन भएकाले कागेश्वर नभनी ‘कागेश्वरी’ भन्न थालियो । कागेश्वरीधाममा राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालादेखि हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्दै आएको छ ।

कागेश्वरीमा कागको सुनौलो मूर्ति बनाइएको छ भने सहिद पार्कमा कागको विशाल कालो प्रतिमा र नेपालको राष्ट्रिय झण्डा पनि राखिएको छ । कागेश्वरी क्षेत्रमा सुविधायुक्त होटल तथा रिसोर्ट खुलेका छन् ।

यो पनि पढ्नुहोस्– कागेश्वरी धाममा पुगे लाखौँ भक्तजन, यस्तो छ जनविश्वास !


प्रतिकृया दिनुहोस्