Hamro Sanchar

मेलुङ गाउँपालिकामा ‘लम्पी स्किन’ रोकथामका लागि औषधी हस्तान्तरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २४ गते


Advertisement

काठमाडौं, भदौ २४- दोलखाको मेलुङ गाउँपालिकामा पशु चौपायामा लाग्ने ‘लम्पी स्किन’ नामक सरुवा रोगको औषधि हस्तान्तरण गरिएको छ ।

हेफर प्रोजेक्ट नेपालले मेलुङ गाउँपालिकाको लागि १६ प्रकारका करिब तीन लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरेको हो ।

औषधि हस्तान्तरण गर्दै हेफर प्रोजेक्ट नेपालका पशु विकास अधिकृत डाक्टर राजेन्द्र ढकालले गाउँपालिकाको आग्रह अनुसार औषधी हस्तान्तरण गरिएको बताए ।

औषधि हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा थोकरले यसअघि पालिकाको आफ्नै सक्रियतामा संक्रमित पशुहरुको निरन्तर उपचार भइरहेको जानकारी दिए । संक्रमित पशुको उपचारको लागि करिव १३ लाखको औषधी खर्च भएको उनको भनाई छ ।

गाउँपालिकाका पशु प्राविधिक तथा थप पशुप्राविधिकहरु एक महिनाको लागि करारमा व्यवस्था गरी संक्रमण नियन्त्रणमा लिएको र क्षति भएका पशुहरुका लागि के कति राहत दिन सकिने सम्बन्धमा छलफल भइरहेको समेत गाउँपालिका अध्यक्ष थोकरले जानकारी दिए ।

यस रोग लागेपछि पशुचौपायालाई ज्वरो आउने, छाला, मुख, खुर, कल्चौडो लगायत शरिरका विभिन्न भागमा गिर्खाहरु आउने, गिर्खाहरु फुटेर रगत आउने, पाक्ने र पिप आउने गरेको पशु चिकित्सकहरु वताउँछन् । यो रोग एक पशुवाट अर्को पशुमा सर्न नदिन पशु तथा गोठको नियमित सरसफाई गर्ने, रोग निरोधक औषधिहरु खुवाउने लगायतका विशेष सावधानी अपनाउनु पर्ने उनीहरुको भनाई छ ।

दोलखालगायत देशका विभिन्न क्षेत्रका पशुचौपायामा देखिएको यो रोगका कारण ब्यवशायिक दुग्ध उत्पादक कृषकहरु मारमा परिरहेका छन् ।


प्रतिकृया दिनुहोस्