Hamro Sanchar

वीर अस्पतालमा आजदेखि बिहान ८ बजेबाट ओपीडी सञ्चालन हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १ गते


Advertisement

काठमाडौं, साउन १- वीर अस्पतालमा आजदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी कार्यान्वयनमा आउन लागेको हो ।

दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

साउन १ गतेदेखि बिरामीले बिहानै ७ बजेदेखि टिकट लिने व्यवस्था गरिएको हो । अपराह्न साढे २ बजेसम्म टिकट लिन पाइने छ । त्यस्तै स्वास्थ्यकर्मीले बिहान ९ बजेभन्दा अगावै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था गरिएको डा। पौडेलले जानकारी दिए ।

शल्यक्रिया सेवा पनि बिहान ८ बजेदेखि नै सुरु गर्नेरगराउने भन्दै डा। पौडेलले सबै विभाग, युनिट, शाखा र वार्डमा परिपत्र गरेका छन् । बहिरंग सेवा बिहान ९ बजेभन्दा अघि नै सुचारु हुने जनाइएको छ ।

वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीका लागि ई–हाजिरी अनिवार्य गरिएको छ । ओपीडी सेवाका कर्मचारीहरूको हाजिरीका लागि बिहान सवा ८ बजे र अपराह्न पौने चारबजेको हाजिरीलाई मात्र मान्यता दिइने जनाइएको छ ।

प्रयोगशालाको सेवा पनि बिहान ७ बजेदेखि नै सुरु हुने छ । खाली पेटमा जाँच गर्नुपर्ने खालका बिरामीको सहजताका लागि बिहानैदेखि सेवा सुरु गरिएको छ । गत असार ८ गतेदेखि ७ सयवटा जनरल बेड अस्पतालमा निःशुल्क छ ।

तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेको थियो ।

एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।

एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउनसमेत आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्