Hamro Sanchar

जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ५ गते


काठमाडौं, जेठ ५- सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यस्तो बताएका हुन् ।

उनले स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने स्पष्ट पारे । उनले दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकताअनुसार अरू अस्पतालहरूमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि उल्लेख गरे ।

उनले कतिपय अस्पतालले जथाभावी रूपमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको भन्दै अब खरिद गर्दा न्यूनतम सेवा मापदण्डले औँल्याएअनुसारका उपकरणहरू मन्त्रालयको समन्वयमा खरिद गर्ने व्यवस्था लागू गर्नेपनि बताए ।

प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने पनि बताउँदै उनले स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण गर्न थप व्यवस्थित गर्न निर्देशन दिए ।

सबै संघीय अस्पतालको उपकरण जाँच गर्ने र भएका उपकरणहरूले काम गर्दागर्दै पनि अन्य खरिद गरेको गुनासो बढेको भन्दै छानबिन गरी कारबाही अघि बढाउने उनले बताए ।


प्रतिकृया दिनुहोस्