Hamro Sanchar

कागेश्वरी मनोहरा-७ मा ‘गाउँ घर क्लिनिक’ सञ्चालन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १९ गते


Advertisement

काठमाडौं, चैत १९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ ले गाउँ घर क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा कार्यालयले मुलपानी पिपलबोटमा गाउँ घर क्लिनिक सञ्चालनमा ल्याएको हो । क्लिनिकको नगरप्रमुख उपेन्द्र कार्कीले आइतबार (आज) एक कार्यक्रमका बीच उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले अशक्त र ज्येष्ठ नागरिकहरुलाई आफ्नो टोल र घर-घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ गाउँघर क्लिनिक सञ्चालनमा ल्याएइको बताए । नगरपालिकाले सबै नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको नगर प्रमुख कार्कीको भनाई छ ।

नगरप्रमुख कार्कीले पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, शहरीकरण व्यवस्थापन, खानेपानी, सरसफाई, महिला, बालिबालिका, ज्येष्ठ नागरिक, पर्यटन प्रबर्धन, खेलकूद, कृषि लगायत नगरबासीहरुसँग प्रत्यक्ष सरोकार राख्ने कार्यहरुलाई प्राथमिकता दिएर नगरपालिकाले काम गरिरहेको पनि बताए ।

कार्यक्रममा वडाअध्यक्ष भिमसेन थापाले वडाबासी ज्येष्ठ नागरिक र अशक्तहरुलाई छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ वडाले आजदेखी मुलपानी पिपलबोटमा गाउँ घर क्लिनिक सञ्चालनमा ल्याएको बताए । यसअघि नै वडाको विरेन्द्र पुस्तकालयमा गाउँ घर क्लिनिक सञ्चालनमा ल्याइएको वडा अध्यक्ष थापाले जानकारी दिए ।

वडाबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि वडा कार्यालय लागिपरेको बताउदै अध्यक्ष थापाले गाउँ घर क्लिनिकबाट स्वास्थ्य सेवा लिनका लागि अशक्त र ज्येष्ठ नागरिकहरुलाई आग्रह गरे ।

कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँगी, स्वास्थ्य अधिकृत लक्ष्मी कोइरालालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वंमसेविकाहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्