Hamro Sanchar

टर्कीमा गएको भूकम्पमा परी ४० हजार बढीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ३ गते


काठमाडौं । सिरिया र टर्कीको सीमामा गतहप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ। टर्की​मा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएका छन्। सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

टर्कीबाट उत्तरपश्चिम सिरियामा बाब अल–सलाममा मानवीय सहायता बोकेका दशवटा अन्तर्राष्ट्रिय आप्रवासन संगठनका ट्रकहरू पुगेका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसको जिउँदै उद्धार गरेको बताएका छन्। ​भूकम्पपछि सिरियामा ५ दशमलव ३ मिलियन मानिस घरबारविहीन हुन सक्ने राष्ट्रसंघको अनुमान छ।

टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल खानाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ। टर्कीमा ८२ देशका ९ हजार ४६ विदेशी कर्मचारी विपद् क्षेत्रमा कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भूकम्पमा परेका ९ जनालाई एक हप्तापछि मंगलबार उद्धार गरिएको छ। टर्कीमा ढलेका भग्नावशेषमा फसेका ९ जनाको हिजो जिवितै उद्धार गरिएको हो।

भूकम्प गएको ठाउँमा सरसफाइको कमीका कारण सङ्क्रामक रोग फैलिने डर रहेको डब्लुएचओले चेतावनी दिएको छ। भूकम्पले निम्त्याएको कठिनाइसँगै जोखिममा रहेका मानिसहरूमा स्वास्थ्य समस्या पनि बढ्ने भन्दै डब्लुएचओले सचेत रहन आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्