Skip

Hamro Sanchar

नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २७ गते


 

 

नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदी पक्रा

काठमाडौं । इरानको सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई गिरफ्तार गरेको छ ।

नरगिस फाउन्डेसनले उनलाई ‘हिंस्रक तरिका’ले गिरफ्तार गरिएको जनाएको छ । फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी शहर मशहदमा अन्य कार्यकर्ताहरूका साथ सुरक्षा बलले गिरफ्तार गरेको हो ।

नोबेल कमिटीले मोहम्मदीको गिरफ्तारीबाट अत्यन्तै चिन्तित रहेको बताएको छ । कमिटीले सुरक्षा अधिकारीसँग मोहम्मदीलाई जहाँ राखिएको भए पनि जानकारी दिन अपील गरेको छ । मोहम्मदीको सुरक्षा र सम्मान सुनिश्चित गरेर उनलाई विना शर्त रिहा गर्नुपर्ने कमिटीको माग छ ।

इरान सरकारका तर्फबाट भने मोहम्मदीको गिरफ्तारीबारे कुनै धारणा सार्वजनिक नभएको बीबीसीले जनाएको छ ।

मोहम्मदीलाई इरानमा महिलामाथि हुँदै आएको दमन विरुद्धको संघर्ष र मानवअधिकारको पक्षमा वकालत गरेको भन्दै सन् २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

डिसेम्बर २०२४ मा उनलाई मेडिकल रिपोर्टका आधारमा जेलबाट तीन साताका लागि अस्थायी रिहाइ गरिएको थियो । मोहम्मदी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा बन्द थिइन् । मोहम्मदीले कैयौं सजायको सामना गर्दै आएकी छन् ।


प्रतिकृया दिनुहोस्