काठमाडौं, कात्तिक २६- नेकपा (माओवादी केन्द्र) की नेतृ तथा सत्ता गठबन्धनबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाकी साझा उम्मेदवार ओनसरी घर्तीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको शालिकमा माल्यार्पण गरेकी छन् । कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा रहेको मदन–आश्रित स्मृति प्राविधिक शिक्षालयको प्रांगणमा रहेको नेता भण्डारी र आश्रितको शालिकमा घर्ती र नेकपा एकीकृत समाजवादीका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का उम्मेदवार भरत प्रसाद फुयालले माल्यार्पण गरेका हुन् ।
गठबन्धनले शनिबार बिहान काठमाडौं क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिका-८ मा चुनावी घरदैलो कार्यक्रम गरेको थियो ।
एमालेविरुद्धमा बनेको गठबन्धनका उम्मेदवारले एमालेकै नेताका शालिकमा माल्यार्पण गरेपछि घरदैलो कार्यक्रममा उपस्थित सबैले ताली बजाएर खुसी व्यक्त गरेका थिए ।
पुर्वसभामुख समेत रहेकी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित गरेको बताएकी छन् । चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन् ।
यस्तै समाजवादीका नेता तथा प्रदेश ‘ख’ का उम्मेदवार फुयालले जनताका घरमा पुग्दा अथाह माया पाइरहेकोले लोकतान्त्रिक वाम गठबन्धनको जित सुनिश्चित भएको बताए ।
२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस्- हाम्रो जित सुनिश्चित छ, निर्वाचन प्रक्रियामात्रै कुरेर बसेका छौं : ओनसरी घर्ती