काठमाडौं, कात्तिक २३- नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन् । बुधबार र काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन् । सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन् ।
उनले आसन्न निर्वाचनमा आफ्नो जितमा स्पष्ट रहेको र मंसिर ४ को निर्वाचन प्रक्रियामात्रै कुरेर बसेको बताइन् । नेतृ घर्तीले निर्वाचनमा जित निकालेपछि जनताको कुनैपनि हक, अधिकारको कटौती नहुने गरी कानून निर्माण गर्ने प्रतिवद्धता जनाइन् । उनले विजयपछि जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्याउने, खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्ने प्रतिवद्धता जनाइन् । उम्मेदवार घर्तीले आम नागरिकहरूले दिएको माया र स्वागतले भोलिका दिनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कर्तव्य बढेको महसुस भएको बताइन् ।
नेतृ घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा नभएको भन्दै उनीहरूको माग पूरा गर्ने प्रतिवद्धता जनाइन् । उनले सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग जनताले गरेकाले बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्यालाई सरकारको पहुँचसम्म पुर्याउने बताइन् ।
उनले भनिन्– ‘हामी प्रत्येक दिन बिहानको समयमा जनताको घर घरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ । आम नागरिकहरूको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महसुस भएको छ । यो समुदायभित्र ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा हुनुहुन्न । सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग गर्नुभएको छ । बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्या उठाउनुभएको छ । यी समस्यालाई सरकारको पहुँचसम्म पुर्याउनेछु ।’
यस्तै नेकपा एकीकृत समाजवादीका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का उम्मेदवार भरत प्रसाद फुयालले जनताका घरमा पुग्दा अथाह माया पाइरहेकोले लोकतान्त्रिक वाम गठबन्धनको जित सुनिश्चित भएको बताए । आफुहरुको जित पश्चात् समग्र क्षेत्रको समस्यालाई केन्द्रमा राखेर काम गरिने उनको भनाइ छ ।