काठमाडौं । युक्रेनको सुमी सहरमा भारतीय व्यवसायी राजीव गुप्ताले सञ्चालन गर्दै आएको औषधि कारखानामा रुसी ड्रोनबाट आक्रमण भएको छ।
आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन्। ड्रोन हमलाका कारण कारखानाको मुख्य संरचनामा ठूलो क्षति पुगेको बताइएको छ। प्रारम्भिक विवरणअनुसार उद्योगमा करिब ४ अर्ब डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।
हमलापछि कारखाना परिसरबाट बाक्लो धुवाँको मुस्लो उठेको थियो। स्थानीय अधिकारीहरूले घटनामा मृत्यु तथा घाइते हुनेको संख्या थप बढ्न सक्ने बताएका छन्। उक्त उद्योग रुसी सीमाबाट करिब २३ किलोमिटरको दूरीमा रहेको जनाइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो कारखाना कुसुम ग्रुपअन्तर्गत सञ्चालनमा छ। भारतीय नागरिक गुप्ता सन् १९९० को दशकमा युक्रेन पुगेपछि त्यहाँ व्यवसाय सुरु गरेका थिए।
कुसुम ग्रुपले सन् १९९४ देखि युक्रेनमा भारतीय औषधिको वितरणमार्फत आफ्नो व्यवसाय थालेको थियो भने सन् १९९६ मा कम्पनी औपचारिक रूपमा युक्रेनमा दर्ता भएको थियो। समूहको मुख्यालय राजधानी किभमा रहेको छ र यो युक्रेनमा सक्रिय प्रमुख भारतीय औषधि कम्पनीमध्ये एक मानिन्छ।































