Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा र टेक्सपायर कलेजबीच डिजिटल साक्षरता विस्तारका लागि सहकार्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र टेक्सपायर कलेजबीच समुदायमा डिजिटल साक्षरता तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले ‘कम्युनिटी टेक मेन्टरसिप प्रोग्राम’ सञ्चालनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार विद्यार्थी तथा स्थानीय समुदायलाई डिजिटल सीप, कोडिङ, सूचना प्रविधि, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी तालिम तथा व्यावहारिक सिकाइ उपलब्ध गराइनेछ। कार्यक्रममार्फत समुदायमा प्रविधिमैत्री वातावरण निर्माण गर्नुका साथै युवाहरूको सीप विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले सूचना प्रविधिलाई प्राथमिकतामा राख्दै कागेश्वरी मनोहरालाई ‘आइटी हब’का रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगर प्रमुख उपेन्द्र कार्कीले टेक्सपायर कलेजसँगको सहकार्य उक्त लक्ष्य प्राप्तितर्फको महत्त्वपूर्ण पहल भएको बताए।

सम्झौतापछि उनले प्रविधिको पहुँच समुदायसम्म विस्तार गर्दै विद्यार्थी र स्थानीय युवालाई डिजिटल सीप तथा नवप्रवर्तनसँग जोड्न कार्यक्रमले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। ज्ञानमा आधारित र प्रविधिमैत्री नगर निर्माणका लागि यस्ता सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

टेक्सपायर कलेजका प्रतिनिधिहरूले पनि नगरपालिकासँगको सहकार्यले प्रविधिमैत्री शिक्षाको विस्तार, दक्ष जनशक्ति उत्पादन र स्थानीय स्तरमा नवप्रवर्तनको संस्कृति विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

यस कार्यक्रममार्फत स्थानीय तह, शैक्षिक संस्था र समुदायबीच सहकार्यलाई थप सुदृढ बनाउँदै डिजिटल रूपान्तरणको आधार तयार पार्ने लक्ष्य राखिएको जनाइएको छ।


प्रतिकृया दिनुहोस्