
गोरखा । मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रो गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
माइक्रोमा चालक र सहचालकसहित १४ जना सवार रहेका थिए। दुर्घटनामा घटनास्थलमै ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
अन्य ७ जना घाइतेलाई उपचारका लागि नजिकको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार माइक्रोमा चालक र सहचालक बाहेक सबै भारतीय नागरिक रहेका थिए। उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेका हुन्।प्रहरी र स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धार कार्य गरिएको थियो।














