Skip

Hamro Sanchar

सबैको सहमतिबाटै राजसंस्था पुनर्स्थापना गर्नुपर्छ : राप्रपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २६ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था जनमतसंग्रहबाट नभई सबैको सहमतिबाटै पुनर्स्थापित हुनुपर्ने बताएको छ ।

शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सुनाउँदै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपा राजसंस्था जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट हुन नहुने बताए ।

राजसंस्था पुस्र्थापनका लागि यदाकदा जनमतसंग्रहको कुरा उठ्ने गरेको भन्दै राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था भएको उल्लेख गरे ।

आफूहरूको परिकल्पनाको राजा राप्रपाको मात्र राजा नभई देशको साझा संस्था हुने बताउँदै लिङदेनले राजसंस्था अल्पमत वा बहुमतबाट स्थापित हुने संस्था नभएको जिकिर गरे ।

उनले भने, “राजसंस्था पुनर्स्थापनाका लागि यदाकदा उठ्ने गरेको जनमतसंग्रहको सन्दर्भमा राप्रपा आफ्नो धारणा पुनः एक पटक स्पष्ट पार्न चाहन्छ । राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था हो र यो संस्थाको पुनर्स्थापना जनमतसंग्रह वा कुनै रक्तपातको बाटोबाट होइन, राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्दछ ।”

राजनीतिक समस्याको समाधान र जेनजी पुस्ताले उठाएका माग सम्बोधन नगरी यथास्थितिमा गरिने निर्वाचनले मुलुकलाई निकास नदिने उनको भनाइ थियो ।

सरकार र जेनजीबीच हस्ताक्षर भएको सहमतिमा परिवर्तन पक्षधरबीच नै साझा धारणा बन्न नसकेको बताउँदै सम्झौता अपूर्ण रहेको उल्लेख गरे ।

त्यस्तै, उनले विदेशमा रहेका नेपालीलाई विदेशबाटै र अन्तरजिल्ला मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको बताए ।

पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएकी मधेस प्रदेश समानुपातिक सांसद कञ्चन बिच्छालाई प्रदेशसभा सदस्यबाट फिर्ता लिने निर्णय गरेको पनि उनले जानकारी दिए।

 


प्रतिकृया दिनुहोस्