Skip

Hamro Sanchar

एमाले महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २५ गते


काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् ।

उनकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामना पत्र पठाउन भनिएको छ । एमालेको ११ औँ महाधिवेशन मङ्सिरको २७ गतेबाट २९ सम्म काठमाडौँमा सुरु हुँदैछ । जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ ।

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताए । लाखौँको सङ्ख्यामा नेता, कार्यकर्ताहरू महाधिवेशनका लागि काठमाडौँ आउने क्रम जारी रहेको बताए । असंवैधानिक क्रियाकलाप गर्ने, अलोकतान्त्रिक ढङ्गबाट मुलुक लैजान खोज्ने तत्त्वहरूलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताए ।

महाधिवेशनमा १ सय ८ जना मनोनीत सहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने बताए । बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल सम्पन्न गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बताए ।

उनले भने, ‘आजको बैठकमा कतिपय बाँकी रहेका कामहरू तत्काल सम्पन्न गर्ने, आर्थिक पाटोको व्यवस्थापन गर्ने सम्बन्धमा पनि केही समितिसँग जोडिएका कामहरू छन्, त्यो व्यवस्थित गर्नुपर्नेछ । मुख्यतया हामीले २७ गतेको उद्घाटन समारोहलाई असाध्यै विशाल र भव्य जनमासका साथ सम्पन्न गर्ने उद्देश्य राखेका छौँ । जनपरिचालनलाई मुख्य प्राथमिकता दिने कुरा आजको बैठकमा छलफल भएको छ । यो पटकको महाधिवेशनमा बाह्य देशबाट विदेशी पाहुनाहरूको हकमा भौतिक रूपमा उहाँहरूलाई आमन्त्रित गरेका छैनौँ । उहाँहरूबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ । उहाँहरूलाई त्यसरी पत्राचार गरेका छौँ ।’

बर्तौलाले थप भने, ‘विभिन्न देशका हाम्रो पार्टी सम्बद्ध रहेका २६ वटा पार्टी र अन्य कम्युनिष्ट पार्टीहरूलाई निमन्त्रणा पठाएका छौँ । नेपालका १६ वटा दलहरूलाई पत्राचार गरेका छौँ । जनपरिचालनमा लाखौँको सङ्ख्यामा आम नागरिकहरू आउने क्रम जारी छ । २७ गतेको उद्घाटन सत्रमा सहभागी मानिसको जनसागरको सन्देश संवैधानिक लोकतान्त्रिक फ्रन्टमा उभ्याउनका लागि नेकपा एमालेमार्फत नेपाली जनताहरू यसका पक्षमा छन् । असंवैधानिक क्रियाकलाप गर्ने, अलोकतान्त्रिक ढङ्गबाट मुलुक लैजान खोज्ने तत्त्वहरूलाई खबरदारी गर्ने सन्देश सम्प्रेषण गर्ने ध्येय राखेका छौँ । १०८ जना मनोनीतसहित २२ सय ६८ कुल प्रतिनिधि हुनुहुनेछ । लाखौँ नेपाली जनताहरूको सहभागितामा यो महाधिवेशन भव्यताका साथ सम्पन्न हुनेछ ।’

उनले नेकपा एमालेले युवाहरूलाई महत्त्वपूर्ण स्थान दिने बताए । १६५ वटा निर्वाचन क्षेत्रबाट हरेक ४ जना प्रतिनिधिमा १ जना ४० मुनिका युवालाई समेट्ने गरी कानुनी वैधानिक सुनिश्चितता गरिएको बताए ।


प्रतिकृया दिनुहोस्