काठमाडौं, कात्तिक १७- युएईलाई ८ विकेटले हराउँदै नेपाल आइसिसी टि-२० विश्वकपका लागि छनोट भएको छ । घरेलु टोली नेपालले जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याए थियो । जवाफी ब्याटिङ गरेको नेपालले १७ बल बाँकी छँदै लक्ष भेट्टाएको हो ।
नेपालको जितमा ओपनर आसिफ शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे । कप्तान रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रन हाने । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । भुर्तेल ११ रनमा क्याच आउट भए । गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरे । गुलशन २२ रनमा बोल्ड आउट भए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा ३० हजार भन्दा धेरै दर्शकमाझ नेपाल टस हारेर फिल्डिङका लागि मैदान उत्रिएको थियो । युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । युएईका वृत्य अरविन्दले सर्वाधिक ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । नेपालका लागि युवा स्पिनर कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभर बलिङ गर्दा ११ रन खर्चिए । स्टार बलर सन्दीप लामिछानेले २ विकेट लिए । लामिछानेले ४ ओभर बलिङ गर्दा एक मेडनसहित १४ रन खर्चिएर २ विकेट लिएका छन् । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
नेपालले अव उपाधिको लागि फाइनलमा आइतबार ओमानसँग खेल्नेछ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । नेपालले २०१४ पछि टि-२० विश्वकपमा पहिलो पटक स्थान बनाएको हो ।