Hamro Sanchar

एसिसी प्रिमियर कप : तयारीमा जुट्यो कागेश्वरी मनोहरा नगरपालिका र क्रिकेट संघ, समस्या समाधानका लागि आजै समिति बन्ने

प्रदिप नेपाली प्रकाशित : २०७९ चैत्र, १० गते


Advertisement

काठमाडौं, चैत १०- आउँदो वैशाखमा नेपालमा एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप हुने भएको छ । एसिसीले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ ।

पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप-२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फर्म्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्दैछ ।

प्रतियोगिता त्रिवि मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने भएपछि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले आफै अग्रसरता देखाएका छन् । कागेश्वरीलाई खेलकुद नगरीको रुपमा विकास गर्न लागि परेका कार्की आफ्नै नगरभित्र एसिसी प्रिमियर कप हुने भएपछि झन् हौसिएका हुन् । जसको तयारीका लागि शुक्रबार बिहान नगरप्रमुख कार्की र नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीबिच प्रतियोगिता हुने स्थान मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता संचालनको लागि वृहत छलफल भएको छ ।

छलफलमा नगरप्रमुख कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा नम्बर-६ का अध्यक्ष प्रकाश फुयाल, वडा नम्बर-७ का अध्यक्ष भीमसेन थापा, वडा नम्बर-८ का अध्यक्ष हरिभक्त पुडासैनी, नगरपालिका प्रतिनिधि संघका तर्फबाट संघका सचिव दुर्गाराज पाठक, कोषाध्यक्ष रोसनकुमार सिंह, महाप्रबन्धक वृतान्त खनाल, टुर्नामेन्ट डाइरेक्टर बिनोद दासलगायत पत्रकार र सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

छलफलमा संघका पदाधिकारीहरुले क्रिकेट मैदानसम्म पुग्ने सडकको समस्या, पिउने पानी, बाथरुम, बिजुली बत्ति, पार्किङ, दर्शक तथा समर्थक बस्ने ठाउँ, सुरक्षा चुनौती, मैदान वरपरको पहिरोको समस्या लगायत नगरप्रमुख कार्कीसमक्ष राखेका थिए । छलफललाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले प्रतियोगिता राष्ट्रिय गौरवको बिषय भएको र मूलपानी क्रिकेट मैदानलाई सबैले आशाको केन्द्रका रुपमा हेरेकाले एसिसी प्रिमियर कप सफल रुपमा सम्पन्न गर्न नगरपालिका नेपाल क्रिकेट संघसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताए । उनले एसिसी प्रिमियर कप संचालन र समस्या र समाधानका लागि आजै नगरपालिका, क्रिकेट संघ, खेलकुदसँग सरोकार राख्ने सरोकारवाला व्यक्ति, सुरक्षा निकाय सम्मिलित उच्चस्तरीय समिति बनाउने र भोलिबाटै अत्यावश्यक कार्यहरु द्रुतगतिमा सुरु गरिने प्रतिबद्धता जनाए । 

क्रिकेट खेलमा नेपालीहरुको मोह बढ्दै गएको र खेलप्रतिको चासो कतिको रहेछ भन्ने यसअघिको आईसीसी विश्वकप लिग–२ मा देखिएका स्मरण गर्दै कार्कीले समस्या र चुनौतीहरु पन्छाउदै एसिसी प्रिमियर कप सफल रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए । एसिसी प्रिमियर कप सम्पन्न गर्न नगरपालिका र संघको साझा दाहित्व भएको उनको भनाइ छ । सम्बोधन गर्दै उनले भने, ‘एसिसी प्रिमियर कप मुलपानी मैदान गरिने कुरा आफुहरुको सपना पुरा गर्ने विन्दु हो ।  आफुहरुको सपना पनि त्यहि भएकोले स्थानीय सरकार सहयोग र सहकार्य गर्न तत्पर छौ ।’ यस्ता अन्तर्राष्ट्रिय खेलकुद गतिविधिले नगरपालिकालाई खेलकूद नगरीको रुपमा विकास गर्न सहयोग पुग्ने उनको भनाई छ । 

एसिसी प्रिमियर कप प्रतियोगिताले मुलपानी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरकै मैदानको रुपमा परिचित गरेको र नगरपालिकाकै प्रतिष्ठाको बिषय भएकाले भब्य र सब्य रुपमा सम्पन्न गर्न सरोकारवाला सबैलाई नगरप्रमुख कार्की आह्वानसमेत गरे । नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, आन्तिरक प्रतियोगिता बढाउन मूलपानी मैदानका बाँकी निर्माणका कार्य क्रिकेट संघसँग समन्वय गरेर अघि बढाइने कार्कीले बताए । छलफल पश्चात नगरप्रमुख कार्कीले मैदानको अवलोकन गरेका छन्

नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममै नगरलाइ स्पोर्टस सिटी (खेलकुद नगरी)को रुपमा विकास गर्ने योजनाका साथ अघि बढाएको छ फलस्वरुप आजै राष्ट्रिय खेलकुद परिषद र नगरपालिकाबीच हस्ताक्षर हुने नगरप्रमुख कार्कीले जानकारी दिए । 

केहिदिनअघि नगरप्रमुख कार्कीसहित राखेपका सदस्य–सचिव टंकलाल घिसिङको टोलीले नगरपालिकाका विभिन्न स्थानमा रहेका जग्गाहरुको अवलोकन गरेका थिए । टोलीले नगरपालिकामा रहेका सोम तीर्थ, गोठाटारको इचोटस्थित पशुपति विकास कोष, मूलपानी चौर, थली चौर, डाँछी र अधिकारी गाँउमा रहेका जग्गाको अवलोकन गरेको थियो ।

यता एसिसीले बिहिबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एसिसीले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको हो ।

यसअघि वैशाख ११ मा प्रतियोगिता सुरु हुने भनिए पनि खेल तालिका हेरफेर भएको हो ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ । यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ ।

प्रतियोगिता विश्वभरिका सयभन्दा बढी राष्ट्रमा प्रतक्ष्य हेरिने नेपाल क्रिकेट संघले जनाएको छ । 

त्रिवि मैदानको उपयुक्त विकल्प मुलपानी क्रिकेट मैदान 

कीर्तिपुरमा रहेको क्रिकेट मैदान क्रिकेट संघको आफ्नै होइन, त्रिभुवन विश्वबिद्यालयसँग वर्षिक १० लाख रुपैयाँ भाडा तिर्ने गरी क्रिकेट संघले लिजमा लिएको हो । त्यही मैदानमा अहिले अन्तर्राष्ट्रियदेखि टोलस्तरका प्रतियोगिता हुने गर्छन् ।

तर, मुलपानीको मैदान कीर्तिपुरको विकल्प बनेको छ । यो मैदान पूर्ण रुपमा तयार भएपछि कम्तिमा उमेर समूहको क्याम्प तथा निजीस्तरका प्रतियोगिताहरु गर्न सकिनेछ । ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि बैकल्पिक मैदानका रुपमा पनि उपयोग हुनेछ ।

मैदानको पूर्व दक्षिण कुनामा घासे मैदानमा बसेर क्रिकेट खेल हेर्न मिल्ने स्लोप पनि छ ।

मुलपानी मैदानको इतिहास

उदाउँदो खेलका रुपमा आएको क्रिकेटको सम्भावित व्यापकतालाई मध्यजनर गरी तत्कालिन क्यानको प्रस्तावमा सरकारले २०६१ सालमा मुलपानीमा दुई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने गरी योजना बनाएको थियो ।

२०६२ सालमा माथिल्लो मैदानको निर्माण सुरु भयो । लामा कन्स्ट्रक्सनले मैदान सम्याएको थियो र उसैले मैदान वरपर तारबार तथा पर्खाल लगाउने काम गर्‍यो । त्यसको दुई वर्षपछि क्यानले पाकिस्तानी क्यूरेटरलाई ल्याएर पीच पनि तयार पार्‍यो । तर, मैदान सम्याएको ६ वर्षसम्म त्यहाँ कुनै काम भएन ।

एकैपटक २०६८ सालमा आईसीसीको सहयोग र सरकारको लगानी गरी ४ करोड लगानीमा मैदानको पश्चिम क्षेत्रमा पेविलियन बनाइयो । जसको निर्माण गौरा कन्स्ट्रक्सनले गरेको थियो । त्यसपछि मुलपानी रंगशालामा उल्लेख्य कुनै काम भएन । २०७० सालमा टंक आङबुहाङ नेतृत्वको क्यान कार्यसमितिबिरुद्ध मुलपानी मैदानमा काम नगरी पैसा खाएको उजुरी परेपछि यसको निर्माण प्रक्रिया अझै लम्बियो ।

१८ वर्षको बीचमा यस मैदान खेल्न योग्यमात्र भएको छ । यसमा सुधार गर्नुपर्ने धेरै छ ।


प्रतिकृया दिनुहोस्