काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख पाउने भएको छ । क्यानले आज पत्रकार सम्मेलन आयोजना गरी नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख पाउने बताएको हो । यस्तै दोस्रो हुने टिमले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमशः १० र ५ लाख पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच लाख, उत्कृष्ट बलर र ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै इमर्जिङ प्लेयरले १ लाख ४० हजार र प्लेयर अफ दि म्याचले ४० हजार प्राप्त गर्नेछन् ।
कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् । डबल लिग राउन्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
उक्त खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीच हुने खेलको विजेतासँग फेरि फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । यसअघि प्रतियोगिता शुक्रबारदेखि सुरू हुने भनिए पनि प्राविधिक तयारी नपुगेको भन्दै एक दिन सारिएको हो ।