Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तिहारको पहिलो दिन : आज काग तिहार पर्व मनाइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदै छ ।

सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष डा। पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित तिहार पर्व गाँसिएको छ ।

यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो ।

यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व शुक्रबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।


प्रतिकृया दिनुहोस्