काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानले) आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाका लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
सन्दीप लामिछानेको कप्तानीमा क्यानले १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा सन्दीपसँगै आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्।
यसपटक कुशल भुर्तेल भने टोलीमा समेटिएका छैनन्। ओमानमा अक्टोबर ७ देखि सुरु हुने यो शृंखला लिग–२ को अन्तिम शृंखला हो।
नेपालले अक्टोबर ११ मा क्यानडासँग खेल्दै शृंखलाको सुरुवात गर्नेछ। त्यसपछि अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा पुनः क्यानडासँग र अक्टोबर २० मा ओमानसँग खेल्नेछ।
लिग–२ को अंकतालिकामा नेपाल २४ अंकसहित सातौँ स्थानमा छ। ३२ खेल खेलेको नेपालले ११ खेलमा जित र १९ खेलमा हार बेहोरेको छ।
शीर्ष चारमा स्थान बनाउन नेपाललाई ओमानमा हुने खेलहरूमा राम्रो प्रदर्शन गर्नुपर्ने दबाब छ।
नेपाल शीर्ष चारमा पुग्न नसके विश्वकप छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ।
हाल स्कटल्यान्ड ४५ अंकसहित शीर्ष स्थानमा छ। अमेरिका ४३ अंकसहित दोस्रो, नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो र ओमान ३१ अंकसहित चौथो स्थानमा छन्। नामिबिया २८, क्यानडा २५, नेपाल २४ र यूएई १८ अंकसहित क्रमशः पाँचौँदेखि आठौँ स्थानमा छन्।































