१२ असोज, झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयले साउन र भदौ महिनाका लागि कुल तीन अर्ब सात करोड ५० लाख राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व संकलन भएको जनाइएको छ ।
कार्यालयका अनुसार, साउनमा एक अर्ब ४३ करोड ५० लाख लक्ष्य राखिएकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार राजस्व संकलन भएको थियो । भदौमा एक अर्ब ६४ करोड लक्ष्य रहेकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार संकलन भएको छ ।
भदौमा साउनको तुलनामा राजस्व संकलनमा सुधार आएको कार्यालयले जनाएको छ । साउनमा लक्ष्यको ८९।१९ प्रतिशत राजस्व संकलन भएकामा भदौमा ९४।७३ प्रतिशत पुगेको हो।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२र८३ को भदौको तुलनामा चालु आवको सोही आवधिमा राजस्व संकलन ९.४३ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्षको भदौमा एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व संकलन भएको थियो ।
सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कडाइका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत न्यौपानेले जानकारी दिए ।






























