१८ भदौ, काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ ।
आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र मलेसियाबीचको खेल बिहान ७:१५ बजे सुरु हुँदैछ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई पछाडि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली टोली मलेसिया पुगेको हो ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्।































