Skip

Hamro Sanchar

नेपाल नामिबियासँग ८ विकेटले पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ६ गते


६ साउन, काठमाडौं । खराब ब्याटिङका कारण झिनो लक्ष्य प्रस्तुत गरेको नेपाल आइसिसी विश्वकप क्रिकेट लिग टु मा नामिबियासँग ८ विकेटले पराजित भएको छ ।

नामिबियाका जेजे स्मिथको सानदार बलिङ तथा माइकल भ्यान लिनगेन र जान फ्राइलिंन्कको अर्धशतकमा नामिबियाले नेपालमाथि सहज जित दर्ता गरेको हो ।

जितको लागि १ सय ५८ रनको सहज लक्ष्य नामिबियाले ३७।४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्‍यो । उसका लागि माइकल र जानले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरे । माइकलले ५१ रन बनाए भने जानले अविजित ७८ रन बनाए ।

जान निकोल लोफ्टी अविजित १७ रनमा रहे । नेपालका लागि रोहित र नन्दनले एकरएक विकेट लिए । टस जितेर नामिबियाले फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।

कप्तान रोहित र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे पनि अन्यले खासै ब्याटिङ गर्न सकेनन् । ओपनर कुशल भुर्तेल दोस्रो बलमै बोल्ड आउट भएदेखि नै नेपाली ब्याटिङ लाइनअप दबाबमा आयो । र एकरएक गर्दै विकेट गुमाउन थाल्यो । इशासन पाण्डेले पनि आज ८ रन बनाउनका लागि ३१ बलको संघर्ष गर्नुपरेको थियो । आशिफ शेख १६ रन बनाएर आउट भए।

कप्तान रोहित ३१ र दीपेन्द्रले ३० रन जोडे। गुलशन झाले २०, करण केसीले १८, सोमपाल कामीले १५ रन बनाए ।

नामिबियाका जेजे स्मिथले ९.५ ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चेर ६ विकेट लिए ।‌ ज्याक ब्रासेल र बर्नार्ड स्कोल्ट्जले समान २ विकेट आफ्नो नाममा लेखाए ।

आइसिसी विश्वकप क्रिकेट लिग टुमा नेपालको यो १६ औं हार हो। २९ औं खेल खेलेको नेपालले अहिलेसम्म ११ खेल मात्र जितेको छ। २४ अंक बनाएको नेपाल पाँचौं स्थानमा कायमै छ। आजको जितपछि नामिबिया २४ अंक सहित छैटौं स्थानमा उक्लिएको छ। अब नेपालले बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।


प्रतिकृया दिनुहोस्