Skip

Hamro Sanchar

मोरक्कोलाई हराउँदै एमबाप्पेको फ्रान्स सेमिफाइनलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २६ गते


२६ असार, काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जितको लागि कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले १-१ गोल गरे।

पहिलो हाफमा एम्बाप्पेले पेनाल्टी मिस गरे। दुवैतर्फबाट पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा फ्रान्सका लागि एम्बाप्पे र डेम्बेलेले १-१ गोल गरे।

यो जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। यो हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुंगिएको छ।

सन् २०१८ को विश्व विजेता तथा २०२२ को उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ।

एमबाप्पेले पहिलो हाफको २८औँ मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले रोकेका थिए।

२५औँ मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई फल गरेर पेनाल्टी बक्समा ढालेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए।

दोस्रो हाफको ६०औँ मिनेटमा डिजायर डुएको पासमा एम्बाप्ले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ६६ औँ मिनेटमा डेम्बेले जितका लागि निर्णायक गोल गरे।

आजको गोलसहित फ्रान्सेली कप्तान एम्बाप्पेको जारी विश्वकपमा गरेको गोलको संख्या ८ पुगेको छ। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको बराबर गोल गरेका छन्।

आजको खेलमा डेम्बेलेले गरेको गोलमा एम्बाप्पेले असिस्ट समेत गरेका थिए। एमबाप्पेले ८ गोलसँगै ३ असिस्ट पनि गरे। जसले गर्दा सर्वाधिक गोलकर्तामा एमबाप्पे मेसी भन्दा अगाडि रहेका छन्।

जारी खेलको अहिलेसम्म मेसीले पनि ८ गोल गरेका छन्। तर उनको १ असिस्ट मात्रै छ।

योसँगै एमबाप्पेले विश्वकपमा समग्रमा २० गोल पुर्‍याएका छन्। यो मेसीको भन्दा एक गोल मात्रै कम हो ।


प्रतिकृया दिनुहोस्