Skip

Hamro Sanchar

साउनभित्र आउदैछ २ लाख १० हजार मेट्रिक टन रासायनिक मल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १७ गते


काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउनभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।

किसानलाई राहत हुने गरी रोपाइँ लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउँदै छ ।

उक्त मल असार अन्तिम सातादेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने सम्भावना देखिन्छ । भारतसँग जीटूजीमार्फत ८० हजार मेट्रिक टन मल आयातको सम्झौताअनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन साउन दोस्रो साता नेपालमा भित्रिने छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिने मन्त्रालयले जनाएको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । यी मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

ओमानमा लोडिंगको प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन युरिया मल असार अन्तिमसम्ममा कोलकाता आइपुग्ने र साउनको दोस्रो सातामा नेपाल भित्रिने मन्त्रालयले जानकारी दिएको हो ।

त्यसैगरी ३० हजार मेट्रिक टन डीएपी होर्मुज पार भई विशाखापट्टनम बन्दरगाहमा पुगिसकेको र २० असारसम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ ।

साथै, ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको र साउन पहिलो साता कोलकाता बन्दरगाह हुँदै साउन अन्तिमसम्ममा नेपाल आइपुग्ने छ ।

त्यसैगरी कतारबाट ३० हजार मेट्रिक टन युरिया मल सिपमेन्ट भइसकेको र असार अन्तिम सातामा कोलकाता आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

साउदी अरेवियाबाट ३० हजार मेट्रिक टन युरिया लोड भइसकेको र असार अन्तिम सातासम्म कोलकाता आइपुग्ने पनि कृषि कम्पनीले जनाएको छ । त्यसैगरी, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल लोड भई असार अन्तिम सातासम्ममा कोलकाता आइपुग्ने र साउन दोस्रो साता नेपाल भित्रिने छ ।

मन्त्रालयले पश्चिम एसियामा जारी द्वन्द्वका कारणले अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटेपनि किसानलाई राहत हुने गरी आपूर्तिको तयारी भइरहेको जनाएको छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष मन्त्रालयले हालसम्मकै सबैभन्दा बढी रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराउने मन्त्रालयको लक्ष्य रहेको छ । यसका साथै मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन प्रणालीमा सम्बन्धित विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने मन्त्रालयले निर्देशन दिएको छ ।

रासायनिक मलको स्थानीय तहमा कालोबजारी वा अनियमितता भएको पाइएमा उजुरी गर्न मन्त्रालयले बिहान ७ देखि साँझ ७ बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको छ


प्रतिकृया दिनुहोस्