
१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण आंगिक क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका उपनिर्देशक सन्देशकुमार रेग्मीले क्याम्पस प्रमुखहरूलाई पठाएको पत्रमा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको निर्देशनअनुसार ६० दिनभित्र क्याम्पस परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनिएको छ।
साथै, ९० दिनभित्र स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट जस्ता विद्यार्थी प्रतिनिधित्व गर्ने संयन्त्र विकास गर्न पनि निर्देशन दिइएको छ।
पत्रमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप न्यूनीकरण, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयन गर्न र त्यसको प्रगति विवरण यथाशीघ्र निर्देशनालयमा पठाउन आग्रह गरिएको छ ।






























