Skip

Hamro Sanchar

काठमाडौंमा बर्डफ्लु बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १३ गते


१३ असार, ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ ।

पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको छ । रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ ।

विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म संक्रमण फैलिएको हो ।

रपशुसेवा विभागका महानिर्देशक डा.उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ । नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४.८५ क्विन्टल दाना पनि नष्ट गरिएको उजले जानकारी दिए ।

रोग नियन्त्रणका लागि पशुसेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालनसमेत गरेको छ ।

विभागका अनुसार हालसम्म कोसी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ ।

तर, काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा संक्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डा.दाहालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्