Skip

Hamro Sanchar

रास्वपा लम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३१ गते


३१ जेठ, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशका अध्यक्षमा रूपन्देहीका शालिकराम घिमिरे निर्वाचित भएका छन् ।

उनी निवर्तमान उपसभापति हुन् । दाङको घोराहीमा शनिबारदेखि जारी अधिवेशनमा सभापति पदका ६ जना प्रतिस्पर्धी थिए । पहिलो चरणको निर्वाचनमा शालिकराम घिमिरेले १ सय ९९ मत प्राप्त गरेका थिए ।

प्रतिस्पर्धामा दोस्रो हुने गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए । रास्वपाको विधानमा सभापति पदको उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने व्यवस्था छ ।

पहिलो चरणमा प्रतिस्पर्धी मध्ये सबै भन्दा धेरै मत ल्याएका शालिकरामलाई दोस्रो मत प्राप्त गर्ने गोपालले समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन नगरी शालिकरामलाई सभापति घोषणा गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार निर्वाचनमा ५ सय ५२ मत खसेको थियो । त्यस अनुसार निर्वाचित हुन कुनै एक उमेदवारले २ सय ७७ मत प्राप्त गर्नुपर्ने विधानमा व्यवस्था भए पनि पहिलो र दोस्रो हुनेको सहमतिमा दोस्रो प्रतिस्पर्धीले पहिलो प्रतिस्पर्धीलाई समर्थन गरेकाले दोस्रो चरणको निर्वाचनमा जान आवश्यक नरहेको बताए ।


प्रतिकृया दिनुहोस्