Skip

Hamro Sanchar

वैदेशिक रोजगारीको नाममा लाखौँ ठग्ने ४ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ७ गते


७ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट घर भई हाल काठमाडौं–२६ बस्ने ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन् ।

उनीहरूले टर्की पठाइदिने भन्दै ८ जना पीडितबाट ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । उनीहरूलाई जेठ ५ गते काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो ।

त्यसैगरी, साइप्रस पठाइदिने भन्दै एक जनाबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पाँचथर फिदिमका ४८ वर्षीय सूर्यप्रकाश खेजुम पक्राउ परेका छन् । उनलाई ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिइएको हो ।

यस्तै, लिथुआनिया पठाइदिने भन्दै १ लाख ९३ हजार रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक भुम्लुकी ३३ वर्षीया शान्ति श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई जेठ ६ गते काठमाडौंको ज्ञानेश्वरबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई लामो समयसम्म झुक्याउने र रकम लिएपछि सम्पर्कविहीन हुने गरेका थिए ।

पीडितहरूको जाहेरीका आधारमा पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्