Skip

Hamro Sanchar

टीओबीदेखि बारबरा फाउन्डेसनका कारण रास्वपाको जादुमय जित भयो : बादल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १९ गते


१९ चैत, काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले रास्वपाको विजयमा नेपाली सेनासहित विभिन्न दृश्य-अदृश्य शक्तिको निर्णायक भूमिका रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता समेत रहेका बादलले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा रास्वपाले जित निकाल्नुमा जेनजी आन्दोलन र त्यसपछि बनेको सरकारलाई दोष देखाए।

‘नेपालमा भाद्र २३ र २४ गते अवैधानिक रुपमा रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो। फागुन २१ गते आमनिर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो। चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा ९एमाले० को तर्फबाट धेरैधेरै बधाई भन्न चाहन्छु,’ बादलले भने, ‘यो अभुतपूर्व विजयमा आन्तरिक रुपमा ककसको निर्णायक भूमिका रह्यो, तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बार्बरा फाउन्डेसन एनजीओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ति संस्था र पात्रहरूलाई पनि म एमालेको तर्फबाट धेरैधेरै बधाई भन्न चाहन्छु।’

उनले जेनजी आन्दोलनमा सहभागी भएका विभिन्न शक्तिलाई खलनायकको रुपमा ब्याख्या गरे। ‘यो जादूमय विजयका ककसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्, अदृश्य शक्तिहरु टीओबी, एआई, अल्गोरिदम, गोयबल्स, मिडिया ट्रायलहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे,’ बादलले बैठकमा भने, ‘देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए।’

रास्वपाको विजय चामत्कारिक भएपनि केही असाधारण प्रश्न जन्माएको बादलको भनाइ छ। ‘कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, बालुवाटार, प्रहरी चौकी, पार्टी कार्यालय सुनियोजित ढंगले जलाइयोरु कसले अबोध विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न उक्सायो,’ बादलले थपे, ‘हतियारबद्ध टीओबीहरू भदौ २३-२४ गते तिलस्मी रुपमा प्रकट भए।’

उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी ढंगबाट पक्राउ गरिएकोमा असन्तुष्टि जनाए ।


प्रतिकृया दिनुहोस्