
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी प्रधान कार्यालय पुगेर सम्बोधन गरेका छन्।
सोमबार प्रहरी मुख्यालयको सभा हलमा सम्बोधन गर्दै प्रहरीलाई थप शक्तिशाली बनाउने प्रतिबद्धता जनाएका हुन्।
अबदेखि प्रहरी महानिरीक्षक (आईजीपी)लाई दज्र्यानी चिह्न प्रधानमन्त्रीबाट लगाउने व्यवस्था गर्न आफूले पहल गर्ने उनले बताए। विगत लामो समयदेखि प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीबाट र प्रधानमन्त्रीबाट नभए गृहमन्त्रीबाट दज्र्यानी चिह्न लगाइदिन माग गर्दै आएका छन्।
तर गृह सचिवले नै लाउँदै आएका छन्। यसअघि दानबहादुर कार्की आईजीपी हुँदा पनि प्रधानमन्त्रीले नै लगाइदिने तयारी भए पनि अन्तिम समयमा गृहसचिवबाटै लगाउनुपरेको थियो। तरु अब प्रधानमन्त्रीले लगाइदिने गरी आफूलजे पहल गर्ने गृहमन्त्री गुरुङले बताए।
कम स्रोत र साधनका बाबजुद विशेष गरी तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको दुःख पीडालाई नजिकबाट देखेको बताउँदै गृहमन्त्री गुरुङले आवश्यक सेवा सुविधाको विषयमा सम्बोधन गरिने बताएका छन्।
‘प्रहरीले जति काम गरे पनि अपजस पाउने दिनको आगामी दिनमा अन्त्य गरिनेछ। राजनीति दलका नेता सरकार र जनताबाट जथाभावी दवाव दिने तथा पेल्ने गतिविधिको अन्त्य हुन्छ’, सम्बोधनका क्रममा गुरुङले भने, ‘कानुन कार्यान्वयनमा म र म संलग्न दल रास्वपाबात तपाईहरुलाई कुनै पनि दबाब हुनेछैन।’
नागरिकलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिँदै गुरुङले प्रहरीको सवारी साधन कुनैपनि घटनामा तत्काल एम्बुलेन्स नहुँदा एम्बुलेन्सको रुपमा प्रयोग गर्ने, पहिलो उद्धार कार्यका लागि प्रहरीलाई आवश्यक तालिम दिने पनि उनले बताए।
‘सरुवा र बढुवाको लागि मन्त्रीज्यूहरुको ढोका ढक्ढकाउने प्रवृत्तिको अबका दिनबाट अन्त्य गरिनेछ। कार्य सम्पादन मूल्याङ्कनको आधारमा सरुवा, बढुवा गरिनेछ। न्याय दिने संगठन माथी भएको अन्याय सहिँदैन। यो बोली मात्र हैन व्यवहार त लागु हुनेछ’, गृहमन्त्रीले भने, ‘राज्यको कुनैपनि निकायले कतैबाट प्रहरी संगठनलाई हेप्ने कार्य भएमा त्यसविरुद्ध लागिनेछ। नेपाल प्रहरी र प्रहरी महानिरीक्षकलाई थप शक्तिशालि बनाइनेछ।’
प्रहरीलाई पोषणयुक्त खानाको लागि आवश्यक कदम चाल्ने, दंगा नियन्त्रणको अवस्थामा कुनै पनि प्रहरी कर्मचारी बिना फुल गियर र शिल्ड बिना फिल्डमा नखटाइने बताए।
विशिष्ट व्यक्तिको आवागमनमा नागरिकसरहकै व्यवहार प्रदर्शन गरिने र कुनै पनि प्रहरी कर्मचारीलाई समस्या पर्दा गृहमन्त्रालयको ढोका २४ सैं घण्टा खुल्ला रहने पनि गुरुङले बताए।
प्रहरी कर्मचारीले प्रयोग गर्ने पोसाक प्रहरी आफैले उद्योग खोलेर नेपालमै उत्पादन गर्ने उनको घोषणा छ। त्यस्ता उद्योग नेपालको ग्रामीण क्षेत्रमा खोलिने पनि गृहमन्त्री गुरुङले बताए।
गृहमन्त्री गुरुङको यो पहिलो सम्बोधन हो।













