Skip

Hamro Sanchar

साम्बाका लागि जुट्यो डेढ करोड बढी सहयोग :  सहयोग रकम रोक्न अपिल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १२ गते


काठमाडौं । गम्भीर चोटका कारण शल्यक्रिया र उपचार प्रक्रियामा रहेकि फुटबल खेलाडी साबित्रा भण्डारी साम्बाका लागि देश–विदेशबाट उल्लेखनीय आर्थिक तथा नैतिक सहयोग जुटेको छ।

पछिल्लो २४ घण्टामै ठूलो रकम संकलन भएपछि साम्बाले सबै समर्थकप्रति आभार व्यक्त गर्दै अब थप सहयोग रोक्न अनुरोध गरेकि छन्।

उनका अनुसार उपचारका लागि नेपाली बैंक खातामा मात्रै एक करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ भने विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० प्राप्त भएको छ। विभिन्न संस्था, संघ–संगठन तथा विदेशमा रहेका नेपाली समुदायले नगद सहयोगका साथै आवास र यातायात सुविधा समेत उपलब्ध गराउने वाचा गरेका छन्।

उपचार कतारमा हुने भएकाले त्यहाँ बसोबास गर्ने व्यक्तित्व तथा संस्थाहरूले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसबाट शल्यक्रिया, पुनर्स्थापना, बसोबास र यातायात लगायत सम्पूर्ण खर्च धान्न पर्याप्त हुने विश्वास साम्बाले व्यक्त गरेकि छन्।

खेलाडी आवद्ध क्लबले समेत बीमा रकम निकासा गरी थप सहयोग गर्दै उपचार प्रक्रियालाई सहज बनाइरहेको बताइएको छ। शल्यक्रियाको मिति छिट्टै तय हुने अपेक्षा गरिएको छ।

चोटका कारण शारीरिक मात्र नभई मानसिक रूपमा पनि प्रभावित भएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस मिलेको बताएकि छन्। आफू अझ बलियो भएर मैदानमा फर्कने र फेरि देशको जर्सी लगाएर खेल्ने दृढ प्रतिबद्धता समेत व्यक्त गरेकि छन्।

“मेरो साँचो धन्यवाद भनेको मैदानमा पुनरागमन हुनेछ,” उनले भनेका छन्, “देशका लागि जित्ने लक्ष्यका साथ चाँडै मैदानमा भेट्ने आशा राखेको छु।”

यसैबीच, उनले आजदेखि दुवै खातामा सहयोग रकम पठाउन रोक्न सबैमा आग्रह गरेकि छन् ।


प्रतिकृया दिनुहोस्