
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ले उपचारको लागि सहयोग मागेकी छन्।
चोटको कारण पछिल्लो सात सातादेखि मैदान बाहिर रहेकी साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेकी हुन्। साम्बाले फेसबुकमा लामो स्टाटस् लेख्दै भनेकी छन्, ‘यहाँहरू सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु। सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझै पनि म उपचारको लागि भौतारिएको छु।’
घुँडाको चोटका कारण उनले जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको बताएकी छन्। ‘मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेको छ। यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ,’ उनले भनेकी छन्, ‘पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो। त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ।’
अहिले भने एन्फाबाट सहयोग नपाएको उनले गुनासो गरेकी छन्। साम्बाले भनेकी छन्, ‘यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन।’
साम्बाको अपिल:
यहाँहरू सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदान बाहिर छु। सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो। तर अझैपनि म उपचारको लागि भौतारिएको छु।
मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर चोट लागेको छ। यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ।
पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो। त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकेँ।
तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन। चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो। तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन। मैले पटक पटक प्रयास गर्दा पनि वहाँहरूलाई सम्पर्क गर्न कठिन भयो।
अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो। वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो। एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ।
यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ। तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुनः सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ। क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ। तर उक्त रकम मेरो शल्यक्रिया र ७–८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु। यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन रहेको छ।
म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन्। तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन।
मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु। यसपटक पुनः माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ।
मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ। आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरू नै हुनुहुन्छ। एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु। तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु। इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसूस भएको छ। यहाँ न्युजिल्यान्ड र अस्ट्रेलियामा खेल्दा पनि मैले व्यक्तिगत भन्दा पनि राष्ट्रको पहिचान बोकेको ठानेको छु।
आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ। त्यसैले नै म आज यहाँहरूमाझ सहयोगको याचना गरिरहेको छु। आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाँडै जम्मा हुनेछ।
म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होलारु मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुनः एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ।
मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको लिंक वा बैंक मार्फत सहयोग गर्नुहोला। विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला
https://givealittle.co.nz/cause/support-sambas-surgery-stand-with-sabitra
यो चोटले मलाई शारीरिक र मानसिक रुपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु।
थाकेको हो, हारेको छैन।
पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु।
जय नेपाल!












