Skip

Hamro Sanchar

विश्वकपमा १२ वर्षपछि नेपालको पहिलो जित

दिपेन्द्रको लगातार दोस्रो अर्धशतक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ५ गते


काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ।

मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित दर्ता गरेको हो।

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो। नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो।

समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन।

नेपाललाई विश्वकपमा जित निकाल्न १२ वर्ष लाग्यो। समूह चरणको अन्तिम खेलमा जित निकालेसँगै नेपालले जारी विश्वकपमा शान्त्वना जित हात पार्यो।

दोस्रो पटक नेपालले सन् २०२४ मा विश्वकप खेल्दा जितविहीन यात्रा टुङ्ग्याएको थियो।

जारी विश्वकपको समुह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार भोगेको थियो।

स्कटल्यान्डले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले ४ बल अगावै ३ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि दीपेन्द्र सिहं ऐरि ५० गुल्सन झा २४ रनमा अविजित रहे।

नेपालका लागि दीपेन्द्रले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। जारी विश्वकपमा यो दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए। गुल्सनले १७ बलमा १ चौका र २ छक्का सहयोगमा २४ रनमा अविजित रहे।

चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले ७३ रनको अविजित साझेदारी गरेपछि नेपालले जारी विश्वकपमा पहिलो जित हात पारेको हो।

ओपनर कुशल भुर्तेल ४३ रन बनाउँदा क्याच आउट हुन पुगे। ३५ बलमा १ चौका ६ छक्का सहयोगमा ४३ रन बनाएका कुशल माइकल लिस्कको बलमा क्याच आउट भए।

अर्का ओपनर आशिफ शेख २७ बलमा २ छक्का सहयोगमा ३३ रन बनाउँदा माइकल लिस्क कै बलमा क्याच आउट भए।

कप्तान रोहित पौडेल १४ बलमा १ चौका मद्दतमा १६ रन बनाउँदा माइकल कै बलमा क्याच आउट हुन पुगे।

स्कटल्यान्डका लागि ३ विकेट माइकल लिस्कलले लिए उनले आफ्नो स्पेलमा ३० रन खर्चे।

त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो।

पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

१० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अ‍ोपनर जर्ज मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए।

त्यसअघि १० औँ ओभरको पाचौँ बलमा माइकलले ३१ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। त्यसको दोस्रो बलमा जर्ज आउट भए।

दोस्रो विकेटका लागि माइकल र ब्रान्डोन म्याक मुलेनले ५२ रनको साझेदारी गरेका थिए। १६ औँ ओभरको दोस्रो बलमा ७१ रन बनाएका माइकल जोन्स सोमपाल कामीको बलमा बोल्ड आउट भए। उनले ४५ बलमा ८ चौका र ३ छक्का हाने।

१६ औँ ओभरको चौथो बलमा २५ रन बनाएका ब्रान्डोम सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे। ब्रान्डोमले १९ बलमा १ चौका र १ छक्का हानेका थिए।

कप्तान रिची बेरिङटोन १० रन बनाउँदा कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।

म्याथु क्रस ४ रनमा नन्दन यादवको बलमा बोल्ड आउट भए। टोम ब्रुस ५ रन बनाउँदा सोमपाल कै बलमा बोल्ड आउट भए।

माइकल लिस्क ४ रन बनाउँदा नन्दनको बलमा आशिफ शेखको हातबाट आउट भए। मार्क वाट १० ओलिभर डेविडसन १ रनमा अविजित रहे।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। सोमपालले आफ्नो स्पेलमा २५ रन दिए।

नन्दन यादवले २ विकेट आफ्नो नाममा गरे। कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए। कुशलले आफ्नो स्पेलमा ३७ रन दिए ।


प्रतिकृया दिनुहोस्