
काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ। नेपाल स्कटल्यान्डसँगको समूह सी को अन्तिम खेलअघि नै सुपर-८ मा नपुग्ने निश्चित भएको हो।
यसअघि इंग्ल्यान्डसँग चार रन र इंग्ल्यान्डसँग दश विकेटले पराजित भएको नेपाललाई आइतबार वेस्ट इन्डिजले ९ विकेटले पराजित गर्यो।
लगातार तीन जित निकालेको वेस्ट इन्डिज भने सुपर(८ मा पुगेको छ। यसअघि उसले स्कटल्यान्ड र इंग्ल्यान्डलाई हराएको थियो।
आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले दिएको १३४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिज १५।२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि कप्तान शाइ होपले अर्धशतक प्रहार गरे। उनले नटआउट ६१ रन बनाउने क्रममा ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। शिमरन हेटमेयरले नटआउट ४६ रन बनाए। उनले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि ब्रान्डन किङ २२ रनमा आउट भएका थिए। उनलाई नन्दन यादवले कुशल भुर्तेलबाट क्याच गराएका थिए।
त्यसअघि टस जितेको वेस्ट इन्डिजले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै नेपालालई आशा दिएका हुन्। अन्तिम ओभरमा आउट हुनुअघि उनले ५८ रन बनाए। खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रको अर्धशतक महत्वपूर्ण सावित भयो।
नेपालका लागि टी-२० विश्वकपमा दोस्रो अर्धशतक बनाउने खेलाडी बनेका दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा नेपालको आशा पलायो।
यो नेपालले विश्वकपमा १२ वर्षपछि अर्धशतक हो। यसअघि सन् २०१४ मा नेपालका लागि सुवास खकुरेलले अफगानिस्तानविरूद्ध अर्धशतक प्रहार गरेका थिए।
नेपालको सुरूवात राम्रो भने हुन सकेन। पहिलो ओभरमै कुशल भुर्तेल अकिल हुसेनबाट बोल्ड भए। ३ बल खेलेका भुर्तेलले १ रन मात्र जोड्न सके। वेस्ट इन्डिजविरूद्ध खेलेका यसअघिका तीन टी-२० खेलम पनि भुर्तेल अकिलकै सिकार बनेका थिए।
एकदमै दबाबमा खेलेको नेपाल तेस्रो ओभरमा कप्तान रोहितकुमार पौडेललाई ५ रनमा गुमायो। म्याथ्यू फोर्डको एलबिडब्लू अपिलमा अम्पायरले आउट दिएका थिए। रोहितले रिभ्यू गरे पनि उनी आउट देखिए।
अर्को ओभरमा आसिफ शेख फाइन लेगको फिल्डर क्याच भए। उनले १० बल खेल्दा २ चौका प्रहार गर्दै ११ रन जोड्न सके।
लगातार विकेट गुमाएको नेपालले ६ ओभरमा ३ विकेट गुमाउँदा २२ रन मात्र जोड्न सक्यो। त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन। सातौ ओभरमा होल्डरले नै आरिफ शेखलाई मिड विकेटमा रहेका फिल्डरबाट समातिए। आरिफले ८ बल खेल्दा २ रन मात्र बनाउन सके।
त्यसपछि केही टिकेका लोकेश बमले १५ बल खेलेर १३ रन जोडे। उनले सामर जोशेफले विकेट पछाडि शाइ होपबाट क्याच गराए। लोकेशले दुई चौका प्रहार गरेका थिए।
गुल्सन झा आजको खेलमा पनि चल्न सकेनन्। उनी १५औं ओभरको अन्तिम बलमा बोल्ड भए। रोस्टन चेजबाट बोल्ड भएका गुल्सनले ११ रन जोड्दा १४ बल खेल्दा एक छक्का प्रहार गरे। उनले दीपेन्द्रसिंह छैटौं विकेटका लागि २७ रनको साझेदारी गरे।
त्यसपछि दीपेन्द्र र सोमपाल कामीले केही राम्रो ब्याटिङ गरे। सोमपालले १८औं ओभरमा जेसन होल्डरलाई लगातार तीन चौका प्रहार गर्दा नेपालले ओभरमा १६ रन जोडेको थियो भने सय रन कटाउन सफल भएको थियो।
१९औं ओभरमा पनि नेपालले सामर जोशेफलाई १८ रन प्रहार गर्यो। यो ओभरमा दीपेन्द्रले सामरलाई दुई छक्का प्रहार गरे।
अन्तिम दीपेन्द्र आउट हुनुअघि उनीहरुबीच सातौं विकेटका लागि ५४ रनको साझेदारी भएको थियो। जसले नेपाललाई राहत मिल्यो। सोमपालले नटआउट नटआउट २६ रन बनाए। सोमपालले १५ बलमा ४ चौका प्रहार गरे। अन्तिम बलमा आउट भएका करण केसीले १ रन मात्र बनाउन सके।
आजको खेल खेलेसँगै सोमपाल नेपालका लागि तीन वटा विश्वकप खेल्ने एक्ला खेलाडी बने। यसअघि सोमपालले २०१४ र २०२६ को विश्वकप पनि खेलेका थिए।
बलिङमा वेस्ट इन्डिजका जेसन होल्सरले चार विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिए।
अब नेपालले समूहको अन्तिम खेलमा मंगलबार राति सवा सात बजे स्कटल्यान्डसँग मुम्बईमै खेल्नेछ













