
काठमाडौं । नेपाली कांग्रेस पार्टीले काठमाडौं-२ मा निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीले सविधानसभा सदस्य दिपक प्रसाद कुइँकेलको संयोजकत्वमा ५ हजार ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।
यस्तै सह-संयोजकमा शंकर थापा, मनिष कोइराला, गोबिन्द बहादुर श्रेष्ठ रहेका छन् भने सचिवमा विश्वनाथ खनाल, सीताराम आचार्य, दिपक दुलाल र आर्थिक संयोजक होमनाथ गौतम (कमल) रहेका छन् ।
नेपाली कांग्रेसबाट यहाँ कविर शर्मा चुनावी मैदानमा छन् । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति समेत रहेका उनी सोही क्षेत्रका स्थानीय हुन् ।
शर्माले स्थानीय जनताको आशा, भरोसा र परिवर्तनको चाहनालाई संसद्सम्म पुर्याउने गम्भीर जिम्मेवारीका रूपमा लिएको बताए। पछिल्ला वर्षहरूमा पूर्वाधार, व्यवस्थापन र राज्यको प्राथमिकताबाट पछि परेको काठमाडौं-२ का समस्या समाधानलाई उनले आफ्नो प्रमुख एजेन्डा बनाएको बताए ।
शहरी क्षेत्र भए पनि काठमाडौं-२ भित्र असमान विकास, सेवा–सुविधामा पहुँचको कमी र व्यवस्थापनसम्बन्धी समस्या विद्यमान छन् । यी विषयलाई चुनावी बहसको केन्द्रमा ल्याउने उनले बताए ।
भूगर्भविद् शैक्षिक पृष्ठभूमि भएका शर्मासँग भूगोल, वातावरण र पूर्वाधार विकाससम्बन्धी प्राविधिक ज्ञान रहेको बताइन्छ ।
ग्रासरुट तहमा सक्रिय रहँदै आएका उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापतिका रूपमा संगठन विस्तार र जनसम्पर्कमा निरन्तर देखिँदै आएका छन् ।
उनैलाई जिताउन सविधानसभा सदस्य कुइँकेललाई शर्माको चुनावी कमाण्डर तोकिएको छ ।
शर्मालाई जिताउन मतदातासँग सीधा साक्षात्कार र घरदैलो गर्दै उनीहरूका सुझाव र माग संकलन गरी चुनावी रणनीति बनाइने कुइँकेलले बताए ।
कांग्रेस केन्द्रले यसअघि देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा समितिहरू गठन गर्न निर्देशन दिएको छ जसले पार्टीको अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत गर्ने बताइएको छ । 


















