
काठमाडौं, पुस २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रांगणमा संचालित “खेलाडीको वरियता निर्धारण सहितको पाचौं बागमती स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८२” सम्पन्न भएको छ ।
प्रतियोगितामा काठमाडौंको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा आइतबार टिम च्याम्पियन बनेको छ ।
जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा ढल्कोले ७ स्वर्ण र १ रजत जित्यो ।
यसैगरी नुवाकोटको पोखरी तेक्वान्दो डोजाङ २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ दोश्रो भयो भने काठमाडौंको लैनचौर तेक्वान्दो डोजाङ २ स्वर्ण, १ रजत र २ कांस्यसहित तेस्रो स्थानमा रह्यो ।
थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिको हातामा भएको प्रतियोगिताको पुरुषमा ढल्कोका अर्पण लामा र महिलामा काठमाडौंको वेस्ट डिभिजनकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्की, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले बागमती प्रदेश तेक्वान्दो संघलाई सहयोग स्वरुप ल्यापटप प्रदान गरेको थियो । दुईदिने प्रतियोगितामा २ सय २७ खेलाडी विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
लिगको यो दोश्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो । यसअघि लिगको पहिलो संस्करणमा ४ प्रतियोगिता भएका थिए । लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा ३ महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ । त्यसअन्तर्गत दोश्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ ।
लिगमा हरेक तौलसमूहमा पहिलो हुनेलाई १०, दोश्रोलाई ७ र तेश्रोलाई ३ अंक प्रदान गरिने छ ।
चार वटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष-महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ । यो लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने उपत्यका बाहिराका खेलाडीलाई आगामी लिगमा खाना, बसोवास र यातायातको सुविधा पनि दिइने आयोजकले जनाएको छ । मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्ने छ ।
प्रदर्शनलाई नै मध्यनजर गरी दोश्रो संस्करणको चौथो लिगको समाप्तिमा हरेक तौलसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ ।
















