
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनश्रम बंगाल र अरबको खाडीमा बेचेर देश कहिल्यै धनी नहुने बताएका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यहीको माटोमा श्रम गर्नुपर्ने जोड दिएका हुन्।
‘त्यसका लागि विजुली सबैभन्दा महत्वपूर्ण र सस्तो कच्चा पदार्थ हो,’ उनले भने, ‘नेपाल जस्तो देशमा मात्रै होइन युरोप अमेरिकामा पनि ऊर्जा अर्थतन्त्रको सबै भन्दा ठूलो ड्राइभर हो। त्यसैले हामीले ऊर्जामा जोड दिनुपर्छ।’
उनले विद्युतीकरण गाउँ(गाउँमा पुर्याउनुपर्ने पनि बताए। विद्युत नपाएका ग्राहकले विद्युत पाउनुपर्ने र त्यसलाई उद्योगधन्दामा लगाउनुपर्ने उनको भनाइ छ।
शाक्यले आफ्ना उत्कृष्ट ग्रहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरूको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियान कोसी प्रदेशबाट सुरूवात गरेको भन्दै अहिले कर्णालीसम्म आइपुगेको पनि जानकारी दिए।
‘गत जेठमा कोशी प्रदेशबाट सुरू गरेको यो अभियान मधेस प्रदेश, गण्डकी हुँदै कर्णालीमा सम्पन्न भएको छ,’ उनले भने, ‘उद्योगी–व्यवसायीसँग नेपाल विद्युत प्राधिकरण नकारात्मक भयो कि भन्ने आशंका चिर्न र हाम्रा इमान्दार ग्राहकलाई अन्याय गर्नुहुँदैन उहाँहरूलाई सम्मान गर्नुपर्छ भनेर यो अभियानको सुरूवात गरेको हो।’
उनले अभियानले प्राधिकरणलाई ग्राहकमुखी भएर सोच्न बाध्य बनाएको र त्यसले थप अघि बढ्न प्रेरणा मिलेको उल्लेख गरे।
शाक्यले प्राधिकरणको मुख्य स्रोत नै उभपोक्ता भएको भन्दै विद्युत उपयोग गर्ने उपभोक्ताले उत्पादनमुखी काम गरेर अर्थतन्त्रमा टेवा दिएको उल्लेख गर्नुभयो।
‘एक रूपैयाँको बिजुली प्रयोग गरेर उपभोक्ताहरूले त्यसको चार–पाँच गुणा बढी उत्पादन गर्नुभएको हुन्छ र त्यहि अनुसारको योगदान मुलुकको अर्थतन्त्रमा दिइरहनु भएको हुन्छ,’ उनले भने, ‘रोजगारीको सिर्जना त्यहिबाट हुन्छ र त्यसले हामी सबैको जीवनस्तरमा सुधार गरेको हुन्छ।’
त्यसले प्राधिकरण मात्रै नभई राज्यको अर्थतन्त्रमा पनि ठूलो योगदान भैरहेको उल्लेख गरे।
‘त्यसैले हामीले त्यो योगदानको सम्मान गर्न खोजेको हो,’ उनले भने, ‘यो सम्मानलाई संस्कारका रूपमा पनि अघि बढाउन खोजेका हौं।’
शाक्यसँगै कर्णाली भ्रमणमा पुगेका प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले प्राधिकरणका तर्फबाट कर्णाली प्रदेशमा गर्नुपर्ने धेरै काम बाँकी रहेको बताए।
‘कर्णाली प्रदेशमा अझै भरपर्दो विजुली दिन सकेका छैनौं। ग्राहकहरूको मन अझै जित्न सकेका छैनौं,’ उनले भने, ‘हामी जतिसक्दो छिटो कर्णाली प्रदेशमा भरपर्दो विजुली दिन लागि परेका छौं।’
प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभुषण साहले कार्यकारी प्रमुख नै कर्णाली आएर उहाँको हातबाट कालोसूचीमा नपरेका र सबै भन्दा बढी विद्युत खपत गर्ने १० उत्कृष्ट ग्राहकलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताए।
उनले कार्यकारी निर्देशकको निर्देशन अनुसार अब करिब १ लाख ८० हजार ग्राहक रहेको कर्णाली प्रदेशका १० वटै विद्युत केन्द्रबाट पनि उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कामको थालनी गर्ने जानकारी दिए।
सम्मानित हुने उत्कृष्ट १० उद्योगी तथा व्यवसायीको तर्फबाट बोल्दै केशव बुढाथोकीले आफूहरूले लामो समयदेखि भोल्टेज कम र अघोषित लोडसेडिङको समस्या भोग्न बाध्य भएको भन्दै नियमित विद्युत आपूर्तिको व्यवस्थाका लागि भरपर्दो पहल गरिदिन आग्रह गरे ।

















