Skip

Hamro Sanchar

निर्वाचन तोकिएकै मितिमा हुन्छ, दलहरूसमेत तयारीमा लागिसके : गृहमन्त्री अर्याल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १६ गते


विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक सुरक्षा गोष्ठी आयोजना भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने भन्दै यसको तयारी सुरु भइसकेको बताए ।

उनले भने, “तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ ।”

उनले निर्वाचनलाई भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै दलहरूसमेत तयारीमा लागिसकेको बताए ।

गृहमन्त्रीसँगै मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखहरू गोष्ठीमा सहभागी छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थिति छ ।

गोष्ठीका क्रममा प्रदेशभित्रका सुरक्षा प्रमुखहरूले आआफ्नो जिल्लाको सुरक्षा अवस्था, विद्यमान चुनौती, सीमा क्षेत्रको संवेदनशीलता र निर्वाचनका समयमा देखिन सक्ने सम्भावित जोखिमबारे विस्तृत ‘ब्रिफिङ’ गर्ने बताइएको छ ।

भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउने विषयमा मुख्य रूपमा छलफल हुनेछ । मंगलबार विराटनगर आएका गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको आवरणमा आगजनी गरिएको मोरङ जिल्ला प्रशासन कार्यालय र विराटनगरस्थित आईसीपीको दिउँसो स्थलगत निरीक्षण गरेका छन् ।

त्यसैगरी उनी सुनसरीको चतराधाम पनि पुगेका छन् ।


प्रतिकृया दिनुहोस्