Skip

Hamro Sanchar

एमाले महाधिवेशन , मङ्सिर २५ भित्र महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २३ गते


काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको टिम प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् ।

विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउने मध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताए। १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनीत हुने छन् । मनोनीतसहित प्रतिनिधिको सङ्ख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए। तत्कालीन नेकपा (एस)बाट ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरूको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ ।

अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुङ्गा जिल्लामा देखिएको समस्या समाधान भइसकेको छ । ती जिल्लाहरूमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड पुर्‍याएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो । जस अनुसार दुवै जिल्लाबाट सर्वसहमत रूपमा प्रतिनिधि छनौट भएर आएका छन् । त्यस बाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनौटका विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए ।

प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानबिन भइरहेको उनले बताए । सङ्गठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिको कार्ड नबनाउने तयारी गरेको छ । ‘हामीले ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरूको भेरिफिकेसन गरिसक्यौँ’ अधिकारीले भने ।

एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रूपमा प्रवेश गर्दैछन् । उनीहरू सल्लाहकार परिषद्का सदस्यहरू हुन् । सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन् । प्रतिनिधि हुन नसकेकाहरूलाई महाधिवेशनमा सहभागीका रूपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन् ।

विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरूको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ । आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ


प्रतिकृया दिनुहोस्