Skip

Hamro Sanchar

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १८ गते


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने जानकारी दिए ।

एमालेले यसअघि चितवनमा सम्पन्न १० औं  राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।

‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौं,’ उपमहासचिव ज्ञवालीले भने, ‘टेण्डर आह्वान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।’

एमाले महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् ।

एमाले महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने छ ।


प्रतिकृया दिनुहोस्