
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच बुधबार टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा श्रीलंकाकी प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलरबराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेकी प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।
नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि २ लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरी भनिन्, हामीकहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो । यसका लागि धन्यवाद छ । आभारी छौँ ।
जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्छ । त्यो हाम्रो कर्तव्य र धर्म नै हो । यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईंहरूसँगै छौँ ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी थिइन् । दुवै देशका प्रधामन्त्रीबीच बुधबार साँझ सवा ८ बजेबाट करिब ४ मिनेट कुराकानी भएको थियो ।


















